प्रकाशित: शिलापत्र, नियात्रा टिभी, साझा सवाल,
आकाशगङ्गामा खर्बाैं तारा, करोडौँ आस्टरोइड उपग्रह, लाखौँ ग्रह छन्, यी कुनै पनि ग्रह उपग्रहमा अहिलेसम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन । तर, अति सुन्दर, रमणीय वातावरणमा मानव जातिको अस्तित्व रहेको एक मात्र ग्रह हो, हाम्रो पृथ्वी ।
पृथ्वीदेखि ९९.५ किलोमिटरमाथि आकाशलाई अन्तरिक्ष भनिन्छ, जहाँ शून्य वायुमण्डल, सुनसान, तीव्र तापक्रम, शून्य गुरुत्वाकर्षण बल रहेको छ । वैज्ञानिकहरूको लामो समयको मिहिनेत र अनुसन्धानपछि पहिलो पटक मानवसहित १२ अप्रिल १९६१ मा अन्तरिक्षयात्री युरी गागरिनलाई रूसले पठाएको थियो ।
अन्तरिक्षयात्रीलाई बस्न, सामान राख्न, इन्धन, खाना इत्यादिका लागि मिर स्पेस स्टेसन (सानो घर) १९८६ मा सोभियत संघले बनाएको थियो । याे स्टेसन पृथ्वीबाट झण्डै ३ सय ५८ किलोमिटर टाढा आकाशमा थियो भने ७.६९ किलोमिटर प्रतिसेकेन्डका दरले हाम्रो पृथ्वीलाई चक्कर लागाइरहेको थियो ।
यो निर्माण गर्न जम्मा खर्च ४.२ विलियन अमेरिकन डलर (करिब ५.५ अर्ब नेपाली रुपैयाँ) खर्च भएको थियो । विज्ञान तथा प्रविधिको तीव्र विकासले २० नोभेम्बर, १९९८ इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) पृथ्वीबाट रसियन प्रोटोल रकेटबाट अन्तरिक्ष (स्पेस) मा पठाइएको थियो । यसका लागि १ सय ५० विलियन अमेरिकी डलर खर्च गरिएकाे थियो । नेपालको कुल बजेट १३.७२ विलियन अमेरिकी डलर छ । आईएसएस स्थापनाका लागि २०१९–२०२० को नेपालको कुल बजेटभन्दा १०.९२ गुणा बढी खर्च लागेको थियो ।
२००० देखि अन्तरिक्षयात्री आईएसएसमा बस्दै आएका छन् । पृथ्वीदेखि ४ सय ८ किलोमिटर टाढा रहेकाे आईएसएसले पृथ्वीको परिक्रमा गर्न ९० मिनेट समय लगाउँछ ।
२०२० मार्चसम्म २ हजार २ सय १८ मानव निर्मित भूउपग्रह अन्तरिक्षमा छन् भने तिनीहरूले आ–आफ्नो देशको वायुमण्डलीय गतिविधि, फोटोसमेत खिच्ने गर्दछन् ।
हालसम्म कति अन्तरिक्षयात्री अन्तरिक्षमा (स्पेस) मा गएका छन ?
विश्वमा सबैभन्दा कम प्रोफेसनल रूपमा अन्तरिक्षयात्री छन् । अन्तरिक्षयात्री बन्नु सोचेजस्तो सरल काम हाेइन । मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । करिब ५ विज्ञान विद्याको ज्ञान भएको हुनुपर्छ । पूर्ण रूपमा निरोगी, निरन्तर २ वर्षको शून्य गुरुत्व बलको तालिम, समुन्द्रमुनिको तालिम, केही समयका लागि विनाअक्सिजन, विनालाइट संघर्षमै तालिम पास भएपछि मात्र अन्तरिक्षयात्रीका लागि निवेदन दिन मिल्छ ।
गत वर्ष मात्र नासाले १८ हजार ६ सय उम्मेदवारहरूको निवेदन पाएको थियो भने अन्तिम क्षणमा १६ जनालाई मात्र छनोट गरेको थियो ०.१५ ले मात्र जागिर पाउने अथवा अन्तरिक्षमा जाने मौका पाउँछन् । यति न्यून सम्भावना हुँदा पनि मानिसहरूले प्रयासचाहिँ गरिरहेका हुन्छन् ।
हालसम्म ५ सय ७२ जना अन्तरिक्षमा गइसकेका छन् भने १९ जना अन्तरिक्षयात्रीहरूले प्राविधिक गल्तीका कारण ज्यान गुमाएका छन् ।
अन्तरिक्षमा पठाउँदा एक अन्तरिक्षयात्रीका लागि कति खर्च हुन्छ ?
अन्तरिक्षयात्री हुनका लागि न्यूनतम विज्ञान संकायमा स्नातक अथवा १ हजार घण्टा जेट प्लेन उडाएको अनुभव हुनुपर्छ । २ वर्षे तालिम धेरै महँगो हुने भएकाले गरिब देश तथा विपन्न परिवारका सदस्यका लागि असम्भव हुन जान्छ । इच्छुक जेहनदारलाई राज्यको कोषबाटै अनुदान तथा छात्रवृत्ति दिनुपर्ने हो । २ वर्षको तालिम खर्च मात्र २–३ करोड हुन्छ ।
एक अन्तरिक्षयात्रीले लगाउने स्पेससुट युनिफर्मको मात्र ४ सय ५० देखि ६ सय मिलियन अमेरिकी डलर (नेपाली ५० करोडदेखि १ अर्ब २ करोडसम्म) पर्दछ । एक दिनको खाना खर्च मात्र २० देखि ८० हजारसम्म पर्न जान्छ ।
किन अहिले विश्वका स्पेस एजेन्सीहरूले खर्बौं डलर खर्च गरिरहेका छन् ?
सन् १९६० यता वैज्ञानिकहरूको गन्तव्य अन्तरिक्षका विभिन्न स्थान जस्तै: चन्द्रमा, मंगल ग्रह, ‘किप्लर–२० ई’ इत्यादितिर छ । यी ठाउँमा मानव बस्ती बसाउनका लागि वैज्ञानिक र स्पेस एजेन्सीहरू रातदिन खटिइरहेका छन् ।
हामी यतिसम्म ढुक्क हुन सक्छौँ कि अबको ७०(९० वर्षसम्म गरिब १० लाख मानिसहरू अन्तरिक्षमा र अन्य ग्रहमा हुनेछन्, किन भने विज्ञान तथा प्रविधिको तीव्र गतिमा विकास हुँदै छ। त्यो बेला मानव जातिका लागि रोजाइ, सुरक्षित स्थान ती ग्रह, उपग्रहहरू रहनेछन् । त्यही भएर अहिले स्पेस एजेन्सी र विकसित रास्ट्रहरू खर्बौं खर्च गरिरहेका छन् ।
पछिल्लो केही दशकदेखि मानव जातिले अन्तरिक्षका बारेमा धेरै चासो राख्दै आइरहेका छन् । अहिले पृथ्वीको एक टुक्रा जमिनको पनि कारोबार भइराखेको छ भने अबको केही दशकपछि ती ग्रह, उपग्रहहरूमा पनि यसरी नै कारोबार सुरु हुनेमा दुई मत छैन ।
के नेपाल सरकारले अन्तरिक्ष अभियान तथा संस्था बनाउन सक्छ ?
अवश्य, तर नीति बनाएर कार्यान्वयनमा ल्याउन धेरै परको कुरा हुनेछ। अहिलेसम्म नेपालमा कुनै पनि अन्तरिक्षसँग सम्बन्धित सरकारी निकाय छैन । नेपाल एस्ट्राेनाेमिकल साेसाइटी (नासाे) ले अन्तरिक्षसँग सम्बन्धित विभिन्न कार्यक्रम बनाएर अन्तरिक्षसम्बन्धी चासो राख्ने युवाहरूलाई सम्मेलन तथा पठनपाठन गर्ने काम गरिराखेको छ।
अहिलेको २१औँ शताब्दीमा नेपाल सरकारले पनि स्पेस एक्सप्लाेरेसन र अभियान ल्याउनुपर्ने हो । गत २०७५ देखि मात्र नेपालमा बीटेक एराेस्पेस इन्जिनियरिङ पुल्चोकले ल्याएको छ । सुरुवात त हुँदै छ। अब नेपालले पनि चाँडै आफ्नै देशमा उत्पादन गरेका स्पेस एक्सप्लाेरेसनहरू हेर्न पाउनेछ। ९१.०१५ अन्तरिक्षयात्रीहरू बीटेकबाट नै छन् ।
शायद, नेपाल सरकारले आफ्नै स्पेस एजेन्सी अथवा संस्था बनाएर अन्तरिक्षमा रकेट पठाउन करिब ५०/६० वर्ष लाग्न सक्छ । सुरुमा त दक्ष जनशक्ति उत्पादन गर्नुपर्याे । त्योभन्दा ठूलो कुरा आर्थिक भार हुन जान्छ । एक पटक मात्र रकेट पठाउन, संस्था बनाउन गरिब नेपाल सरकारको २०१९/२० को कुल बजेटकाे १० गुणा चाहिन्छ, यस्ताे ठूलाे बजेट कहाँ बाट ल्याउने ?
खर्बाैं भ्रष्टाचार भइराखेको छ । दिन प्रतिदिन अनावश्यक खर्च बढिराखेको छ । त्यो सबैलाई नियन्त्रण गरेर थोपाथोपा मिलेर समुद्र बन्छ भनेझैँ ५० वर्ष लाग्नेलाई ५/१० वर्षमै गर्न पनि सकिँदैन र ? नेपालमा अन्तरिक्षसँग सम्बन्धित न त मन्त्रालय, न त विभाग नै छ, आखिर किन ?
के नेपाली वैज्ञानिकहरू अन्तरिक्षयात्री बनेर अर्को देशको नागरिक भएर अन्तरिक्षमा जान सक्लान् त ?
अवश्य, अबको एक दशकभित्र नेपाली आमाका सन्तान पनि अन्तरिक्षमा जानेछन् । तर, धेरै चुनौतीहरूसँग सघर्ष गर्नुपर्नेछ (जस्तैः आर्थिक भार, साथ समर्थन, हौसला तथा प्रोत्साहन) ।
उदाहरणका लागि नासाको अन्तरिक्षयात्री हुनुभन्दा पहिला अमेरिकाको नागरिक हुनुपर्छ । सबै देशको नियम यस्तै छ । नेपाली आमाको नागरिकता तोडेर अन्य देशको नागरिकता लिएर भए पनि अन्तरिक्षमा गएर नेपाली आमालाई खुसी राख्नेछन् भन्ने हामीहरूले आशा गरौँ । यो चाँडै देख्न र सुन्न पाइयोस् ।
कसैले म नेपाली आमाको सन्तान हुँ, म नेपाली रगत पनि अन्तरिक्षमा पुर्याउन चाहन्छु, म जस्तोसुकै परिस्थितिसँग लड्न तयार छु भन्ने बहादुर छोरा/छोरीलाई राज्यले पूर्ण रूपमा साथ, समर्थन, हौसला तथा प्रोत्साहनका साथै आर्थिक र भौतिक सहयोग गर्नुपर्छ। व्यक्तिगत फाइदा नभएर राष्ट्रको पनि नाम इस्तिहासमा समावेश हुने भएकाले सबै एकजुट भएर सहकार्य गर्नुपर्छ ।
(लेखक शाही कर्णाली विज्ञान तथा प्रविधि केन्द्रका अध्यक्ष एवं राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जालका केन्द्रीय सदस्य हुन् । सं.)

Leave a Reply